आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
Prime TV News १० घण्टा अगाडि 
काठमाडौ । नेपालमा अहिले पश्चिम भूभाग नजिक रहेको उपल्लो वायुमण्डलीय न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको सम्भावना बनेको हो । हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ ।
अन्य पहाडी क्षेत्रमा आंशिक बदली छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित केही हिमाली तथा पहाडी क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
यस्तै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको छ । अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।
आज राति कोशी र मधेस प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।







