अविरल वर्षाले सञ्चार सेवा प्रभावित, मन्त्रालयद्वारा आपतकालीन सम्पर्क नम्बर सार्वजनिक

User Image Prime TV News एक दिन अगाडि
Image of अविरल वर्षाले सञ्चार सेवा प्रभावित, मन्त्रालयद्वारा आपतकालीन सम्पर्क नम्बर सार्वजनिक

काठमाडौ । हाल देशका धेरै भागमा परेको अविरल वर्षाले सर्वसाधारणको दैनिकीमा असर पार्नुका साथै सञ्चार सेवामा पनि अवरोध आउन थालेको छ।

यस्तो संकटपूर्ण अवस्थामा नागरिकले आवश्यक सूचना आदानप्रदान गर्न समस्या नहोस् भन्ने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आपतकालीन सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ।

शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै सञ्चार सेवा अवरुद्ध भएमा वा कुनै आकस्मिक सूचना प्रवाह गर्न आवश्यक परेमा सम्बन्धित निकायसँग तत्काल सम्पर्क गर्न आग्रह गरेको हो।

मन्त्रालयले नेपाल टेलिकमको १४९८, एनसेलको ९००५, नेपाल दूरसञ्चार प्राधिकरणका ९८५१०८७४३२ र ९८४१३७६२०३ तथा मन्त्रालयका ९८४९०५३६६३ र ९८४१५२०११५ नम्बरमा सम्पर्क गर्न सकिने जानकारी दिएको छ।

साथै, मन्त्रालयमा बसेको छलफलमा विपद्का बेला सञ्चार सेवा निरन्तर राख्न विशेष प्राथमिकता दिने निर्णय समेत गरिएको छ।

मन्त्रालय, सेवा प्रदायक कम्पनीहरू तथा प्राधिकरणका प्रतिनिधिबीच भएको समन्वयले आपतकालीन अवस्थाका बेला नागरिकलाई सूचनाको पहुँचमा राख्न सबै निकाय तयारी अवस्थामा रहने बताएका छन्।

सञ्चार सेवा दैनिक जीवनको आधारभूत आवश्यकता भएकोले यस्तो विषम परिस्थितिमा समेत सेवाको निरन्तरता सुनिश्चित गर्नु सरकारको प्राथमिक जिम्मेवारी भएको मन्त्रालयले स्पष्ट पारेको छ।

नागरिकलाई सचेत र सजग रहनका लागि नियमित सूचना प्रवाहमा सहकार्य गर्न सम्पूर्ण सञ्चार माध्यम तथा सेवाप्रदायकलाई मन्त्रालयले अनुरोध गरेको छ।