ट्रम्पको सैन्य अधिकार सीमित गर्ने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित

User Image Prime TV News ९ घण्टा अगाडि
Image of ट्रम्पको सैन्य अधिकार सीमित गर्ने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित

काठमाडौ । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले राष्ट्रपति डोनाल्ड ट्रम्प लाई इरानविरुद्ध थप सैन्य कारबाही गर्न रोक लगाउने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ ।

इरानसँग जारी तनाव र युद्धप्रति असन्तुष्टि जनाउँदै चार जना रिपब्लिकन सांसदहरूले डेमोक्र्याट सांसदलाई साथ दिएपछि प्रस्ताव २१५ विरुद्ध २०८ मतले पारित भएको हो ।

यो प्रस्ताव ट्रम्पको युद्धसम्बन्धी अधिकार सीमित गर्ने चौथो प्रयासका रूपमा आएको हो । आलोचकहरूले इरानविरुद्धको सैन्य अभियानका लागि अमेरिकी संविधानअनुसार कंग्रेसको स्पष्ट स्वीकृति नलिइएको आरोप लगाएका छन् ।

अब यो प्रस्ताव रिपब्लिकनहरूको बहुमत रहेको अमेरिकी माथिल्लो सदन यूएस सिनेटबाट पनि पारित हुनुपर्नेछ । तर, सिनेटबाट पारित भए पनि यसले सैन्य कारबाही पूर्ण रूपमा रोक्न सक्ने सम्भावना कम रहेको विश्लेषण गरिएको छ ।

राष्ट्रपति ट्रम्पले प्रस्तावमाथि भिटो प्रयोग गर्न सक्ने अवस्था पनि रहेको छ । यदि भिटो प्रयोग भयो भने त्यसलाई असफल बनाउन कंग्रेसका दुवै सदनमा दुई–तिहाइ बहुमत आवश्यक पर्नेछ ।

बुधबारको मतदानमा रिपब्लिकन सांसद थोमस मासी, ब्रायन फिट्जप्याट्रिक, टम ब्यारेट र वारेन डेभिडसनले डेमोक्र्याट पक्षमा मतदान गरेका थिए ।

मतदानपछि मिशिगनका रिपब्लिकन सांसद टम ब्यारेटले युद्ध घोषणा गर्ने अधिकार कंग्रेससँग मात्र रहने भन्दै संविधानको रक्षा गर्न आफूहरूले प्रस्तावको समर्थन गरेको बताएका छन् ।