लगातार दोस्रो जित निकाल्दै नेपालले भुटानलाई हरायो

User Image Prime TV News ७ घण्टा अगाडि
Image of लगातार दोस्रो जित निकाल्दै नेपालले भुटानलाई हरायो

काठमाडौ । एसीसी महिला प्रिमियर कपमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको छ।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो। नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्रै बनाउन सक्यो। भुटानका डेचेन वाङ्मोले ३९ रन बनाए पनि टोलीलाई जिताउन सकिनन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुरुवातमा कमजोर प्रदर्शन गरेको थियो। नेपाल ६७ रनमा ७ विकेट गुमाएर दबाबमा परेको थियो। त्यसपछि सीता रानामगर र रुबिना क्षेत्रीले आठौं विकेटका लागि महत्वपूर्ण ४० रनको साझेदारी गर्दै टोलीलाई सम्हाले।

सीताले २८ बलमा ३७ रन बनाइन् भने रुबिनाले २१ बलमा २४ रनको योगदान दिइन्। उनीहरूको साझेदारीले नेपाललाई सम्मानजनक योगफलतर्फ पुर्‍याएको थियो। बलिङतर्फ पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो। रुबिना क्षेत्रीले ३ विकेट लिइन् भने रिया शर्माले २ विकेट हात पारिन्। नेपाली बलरहरूको कसिलो प्रदर्शनका कारण भुटान लक्ष्यसम्म पुग्न सकेन।

यो जितसँगै नेपालले प्रतियोगितामा आफ्नो विजयी यात्रा जारी राखेको छ।