तपाईहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो : प्रधानमन्त्री कार्की

User Image Prime TV News एक दिन अगाडि
Image of तपाईहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो : प्रधानमन्त्री कार्की

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले देशका विभिन्न भागमा लगातारको वर्षासँगै बाढी, पहिरो, डुबान र भू-कटानको जोखिम उच्च बनेको भन्दै जनतालाई सतर्क रहन र सुरक्षा प्राथमिकतामा राख्न आग्रह गरेकी छन्।

शनिबार साँझ देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले जोखिमपूर्ण अवस्था अझै बढ्न सक्ने भएकाले सरकारी संयन्त्रहरू उच्च मनोबलका साथ राहत र उद्धारमा पूर्ण रूपले सक्रिय रहेको जानकारी दिइन्।

तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो,” प्रधानमन्त्री कार्कीले भनिन्, “आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस्। तपाईंहरू यस संकटमा एक्लो हुनुहुन्न। राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँग छन्।

उनले विशेषगरी नदीनालाहरूमा बहाव उच्च सतर्कताको तहमा रहेको, लगातारको वर्षाले धेरै स्थानमा पहिरोको जोखिम बढाएको र चुनौतीपूर्ण परिस्थितिमा सरकार सबै साधन र स्रोतमार्फत नागरिकको जीवन र सुरक्षामा जुटेको स्पष्ट पारिन्।

प्रधानमन्त्रीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मी, स्थानीय प्रशासनलगायत सबै सेवा प्रवाह गर्ने निकायहरू २४ घण्टा तयारी अवस्थामा रहेको जनाउँदै विपद् व्यवस्थापनमा समन्वयित प्रयास भइरहेको बताइन्।

हामी सबै सरकारी संयन्त्र उच्च मनोबलका साथ काममा खटिएका छौँ,” उनले भनिन्, “राजमार्ग र पूर्वाधारहरूमा निगरानी पनि कडा गरिएको छ।

प्रधानमन्त्री कार्कीले नागरिकलाई जहाँ छन्, त्यहीँ सुरक्षित बस्न र अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्न अपिल गर्दै संकटको घडीमा संयम, सतर्कता र सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।