संसद अवरोध रहरले नभई बाध्यता
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले एमाले वर्तमान राजनीतिक व्यवस्थाको निर्माता भएकाले यसको संरक्षण र सुदृढीकरणमा प्रतिबद्ध रहेको बताएका छन्।
बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले एमाले व्यवस्था चलाउन मात्र नभई जोगाउन पनि जिम्मेवार रहेको बताए। उनले संसदीय व्यवस्था र लोकतन्त्रलाई बलियो बनाउन एमालेले भूमिका खेलिरहेको उल्लेख गरे।
महरले संसद् अवरोध रहरले नभई बाध्यताका कारण गर्नुपरेको दाबी गरे। संसद् जनताका आवाज उठाउने महत्वपूर्ण थलो भएकाले यसको अवरोध आफूहरूको चाहना नभएको उनको भनाइ थियो । उनले सरकारका सकारात्मक काममा समर्थन गर्ने र गलत कामको विरोध गर्ने नीति एमालेको रहेको बताए।
साथै संविधान, लोकतन्त्र र राष्ट्रिय हितका विषयमा कुनै सम्झौता नगर्ने पनि स्पष्ट पारे। महरले सरकार र सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै संसद्को मर्यादा र संसदीय अभ्यासको सम्मान हुनुपर्ने बताए। उनले संसदमा उठाइएका विषयको उचित सम्बोधन नभएसम्म एमालेले आफ्नो विरोध जारी राख्ने संकेत पनि दिएका छन्।







