अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्ड बन्द
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । लगातारको वर्षाका कारण पहिरोको उच्च जोखिम देखिएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधनको आवागमन शनिबार साँझदेखि पूर्ण रूपमा रोकिएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार असोज १७ गते साँझ ६ बजेदेखि अर्को सूचना नभएसम्मका लागि सबै प्रकारका सवारीसाधन आवतजावतमा रोक लगाइएको हो।
देशका अधिकांश भू–भागमा लगातार वर्षा भइरहेकाले पहिरोको सम्भावना बढेको र विशेषगरी तुइन खोला लगायतका क्षेत्रमा जोखिम अत्यधिक रहेकाले सडक बन्द गर्नुपरेको जनाइएको छ।
"सुरक्षालाई मध्यनजर गर्दै र सम्भावित दुर्घटनाबाट जोगिनका लागि सुरक्षा निकायसँग समन्वयमा सडक बन्द गरिएको हो," सडक डिभिजनका एक अधिकारीले जानकारी दिए।
डिभिजनले अत्यावश्यक कार्यका लागि यात्रा गर्नुपर्ने सवारीसाधनलाई सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी मात्र यात्रा गर्न अनुरोध गरेको छ।
पहिरोका कारण सडक बन्द भइरहँदा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा जानकारी लिएर मात्रै यात्रा योजना बनाउन आग्रह गरिएको छ।







