सुधन गुरुङसम्बन्धी छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ।
छानबिन समितिका संयोजक पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीले ४५ पृष्ठको प्रतिवेदन तयार गरेर प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाइएको जानकारी दिएका छन्। उनका अनुसार समितिले छानबिन प्रक्रिया पूरा गरेर प्रतिवेदन बुझाएको हो र अबको प्रक्रिया सरकारको जिम्मामा रहनेछ।
मन्त्रिपरिषद्को निर्णय अनुसार गठन भएको समितिमा पूर्वन्यायाधीश भण्डारी संयोजक थिए भने महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए। समितिले गुरुङसँग बयान लिएको थियो। साथै आरोपसँग सम्बन्धित कागजात, सम्पत्ति विवरण र अन्य प्रमाणहरूको अध्ययन पनि गरेको बताइएको छ।
गुरुङमाथि व्यवसायिक साझेदारी र सम्पत्ति विवरणसम्बन्धी विषयलाई लिएर विवाद भएपछि उनी राजीनामा दिन बाध्य भएका थिए। राजीनामापछि सरकारले छानबिन समिति गठन गरेको थियो। अब प्रतिवेदनको आधारमा थप निर्णय हुने अपेक्षा गरिएको छ।







