धवलशम्शेर राणा पार्टी छाड्दा असर नपर्ने लिङ्देनको दाबी
Prime TV News एक घण्टा अगाडि 
गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धवलशम्शेर राणाले पार्टी छाड्दैमा राप्रपालाई कुनै असर नपर्ने बताएका छन्।
राप्रपा गोरखाको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै लिङ्देनले पार्टी छाड्ने केही नेताहरूले विगतमा पनि पार्टीका गतिविधिमा सक्रिय भूमिका नखेलेको आरोप लगाए। उनले पार्टीलाई राष्ट्रिय दल बन्न नदिन खोज्ने र चुनावका बेला पनि जिम्मेवारी पूरा नगर्ने व्यक्तिहरू बाहिरिँदा चिन्ता लिनु नपर्ने बताए।
लिङ्देनले चुनावमा पार्टीका उम्मेदवारलाई सहयोग नगर्ने र पार्टीको काममा सक्रिय नहुने व्यक्तिहरूको बहिर्गमनले संगठन कमजोर नहुने दाबी गरे। उनले पार्टीका नेता तथा कार्यकर्तालाई विचलित नहुन आग्रह गर्दै राप्रपा अझ बलियो भएर अघि बढ्ने विश्वास व्यक्त गरे।
हालै राप्रपाका महामन्त्री रहेका धवलशम्शेर राणाले पार्टी छाडेका थिए। त्यसपछि अध्यक्ष लिङ्देनले पहिलो पटक सार्वजनिक रूपमा प्रतिक्रिया दिएका हुन्।







