सोह्रखुट्टे हिरासत प्रकरण : जेनजीको आरोपपछि राजनीतिक विवाद, पूर्वमन्त्री सुधन गुरुङको भेटबारे मिश्रित दाबी
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । सीमा विवादको विषयमा प्रदर्शन गर्दै भारतीय दूतावास नजिक पुगेका केही जेनजी युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सोह्रखुट्टे प्रहरी वृत्तमा राखेपछि उत्पन्न घटनाले नयाँ राजनीतिक विवाद निम्त्याएको छ।
प्रहरीका अनुसार लैनचौरस्थित दूतावास क्षेत्रबाट पक्राउ गरिएका चार जना जेनजी अभियन्ता अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई नियन्त्रणमा लिएर सोह्रखुट्टे वृत्तमा राखिएको थियो।
यसै क्रममा राष्ट्रिय जेनजी नागरिक अभियानले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङले हिरासत पुगेर थुनुवामाथि धम्कीपूर्ण व्यवहार गरेको आरोप लगाएको छ। अभियानले बिहीबार जारी गरेको विज्ञप्तिमा गुरुङले हिरासतभित्र प्रवेश गरी “अस्वाभाविक र अमर्यादित दबाबमूलक व्यवहार” गरेको दाबी गरिएको छ।
विज्ञप्तिमा उल्लेख छ, “तपाईंहरू कोबाट परिचालित हुनुहुन्छ, यो अन्तिम मौका हो। अब सरकार र प्रहरीले समाते भने छोड्दैनौं। सरकारविरुद्ध बोल्न बन्द गर्नुस् भन्दै मानसिक दबाब सिर्जना गर्ने र थर्काउने प्रयास भयो।”
अभियानले हिरासतमा रहेका व्यक्तिलाई अनधिकृत व्यक्तिले प्रवेश गरी धम्की दिनु गम्भीर विषय भएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ। तर, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले सुधन गुरुङ सोह्रखुट्टे प्रहरी वृत्त पुगेको पुष्टि गरेका छन्। उनका अनुसार गुरुङ पक्राउ परेकाहरूलाई भेट्न गएका थिए।
“उहाँ त्यहाँ पुग्नु भएको हो, जेनजी भाइहरूलाई त्यहाँ राखिएको छ भनेपछि भेट्न जानु भएको हो,” एसपी भट्टराईले बताएका छन्। तर भेटका क्रममा के-कस्ता कुराकानी भए भन्नेबारे प्रहरीले कुनै औपचारिक जानकारी दिएको छैन।
सोह्रखुट्टे प्रहरी वृत्त स्रोतका अनुसार पनि गुरुङ केहीबेर हिरासत कक्ष नजिक गएर थुनुवाहरूसँग भेटेर फर्किएका थिए। तर कथित धम्की वा दबाबबारे कुनै आधिकारिक पुष्टि भएको छैन। प्रहरी स्रोतले भने अनुसार गुरुङ त्यहाँ कुनै व्यक्तिगत उजुरी वा प्रशासनिक कामका लागि नभई पक्राउ परेकाहरूसँग भेट्न मात्र पुगेका थिए।
घटनाबारे पूर्वगृहमन्त्री तथा सांसद सुधन गुरुङसँग सम्पर्क गर्ने प्रयास भए पनि प्रतिक्रिया प्राप्त हुन सकेको छैन। यस प्रकरणबारे जेनजी समूहको आरोप र प्रहरीको प्रारम्भिक भनाइ फरक–फरक देखिएकाले घटनाको वास्तविक स्वरूप अझै स्पष्ट हुन बाँकी रहेको देखिन्छ।







