स्ववियु प्रतिनिधित्व हटाउने अध्यादेशमा सर्वोच्चको रोक
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । त्रिभुवन विश्वविद्यालयको सभामा स्वतन्त्र विद्यार्थी युनियनको प्रतिनिधित्व हटाउने गरी सरकारले ल्याएको अध्यादेश तत्काल लागू नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
स्ववियु केन्द्रीय क्याम्पसका सभापति दीपकराज जोशीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले यो आदेश दिएको हो।
यस आदेशपछि सरकारले ल्याएको अध्यादेश अहिलेका लागि कार्यान्वयनमा रोकिएको छ। सरकारले विश्वविद्यालय सभामा स्ववियुको प्रतिनिधित्व हटाउने व्यवस्था गरेको थियो। तर यो व्यवस्था संविधान, लोकतान्त्रिक मूल्य र विश्वविद्यालयको स्वायत्तताविरुद्ध भएको भन्दै जोशीले अदालतमा मुद्दा दायर गरेका थिए।
जोशी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट स्ववियु सभापति बनेका हुन्। उनी केन्द्रीय क्याम्पसको स्ववियु सभापति भएकै कारण त्रिभुवन विश्वविद्यालय सभाका सदस्य पनि हुन्। सरकार, शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरिएको थियो।
अदालतले पूर्ण आदेश भने पछि आउने जनाएको छ।







