मनसुनी वायु सक्रिय, देशभर वर्षा जारी

User Image Prime TV News ११ महिना अगाडि
Image of मनसुनी वायु सक्रिय, देशभर वर्षा जारी

काठमाडौ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको सक्रिय प्रभावका कारण अहिले देशभर वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिन यस्तै मौसम रहने संभावना छ।

कोशी र मधेस प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही वर्षा भइरहेको विभागले जनाएको छ। बागमती र लुम्बिनी प्रदेशमा सामान्य बदली छ भने देशका बाँकी भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाद्वारा जारी मौसम बुलेटिनअनुसार कोशी र मधेस प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी र मधेस प्रदेशका १२ स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

आइतबारका लागि गरिएको पूर्वानुमानअनुसार कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहने अनुमान छ। कोशी प्रदेशका पहाडी भू-भागका १२ स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

विभागले वर्षासँगै पहाडी भू-भागमा पहिरो तथा बाढीको जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।