एक साताभित्र नेपालमा मनसुन भित्रिने अनुमान, यसपालि गर्मी बढी हुने संकेत

User Image Prime TV News २ घण्टा अगाडि
Image of एक साताभित्र नेपालमा मनसुन भित्रिने अनुमान, यसपालि गर्मी बढी हुने संकेत

काठमाडौ । जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन भित्रिन अझै करिब एक साता लाग्ने जनाएको छ।

विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले मनसुन दक्षिण भारतको केरला र तमिलनाडुसम्म पुगिसकेको छ भने बङ्गालको खाडी हुँदै नेपाल प्रवेश गर्ने क्रममा रहेको छ।

उनका अनुसार मनसुन नेपालमा ठ्याक्कै कुन दिन भित्रिन्छ भन्ने निश्चित भन्न सकिने अवस्था छैन। “तीन–चार दिनभित्र मनसुन बङ्गालको खाडीसम्म पुग्ने देखिन्छ। त्यसपछि नेपाल आउन करिब एक हप्ता लाग्न सक्छ,” उनले बताएका छन्।

नेपालमा सामान्यतया जुन १३ तारिख आसपास मनसुन भित्रिने औसत मिति मानिन्छ। तर यस वर्ष भारत मा नै मनसुन केही ढिलो सक्रिय भएकाले नेपालमा पनि निर्धारित समयभन्दा ढिलो भित्रिने अनुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार यसपालिको मनसुन सामान्यभन्दा कमजोर हुन सक्ने संकेत देखिएको छ। औसतभन्दा कम वर्षा हुने र गर्मी बढी महसुस हुने अनुमान गरिएको छ। यद्यपि केही क्षेत्रमा अत्यधिक वर्षा र केही क्षेत्रमा खडेरीसमेत हुन सक्ने जोखिम औँल्याइएको छ।

यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनी विपद्को सम्भावित असरलाई ध्यानमा राख्दै पूर्वतयारी सुरु गरेको जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार यस वर्ष मनसुनका कारण ५१ हजार परिवारका करिब दुई लाख २६ हजार नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

संभावित बाढी, पहिरो र डुबानलाई ध्यानमा राखेर राष्ट्रिय प्रतिकार्य योजना लागू गरिएको प्राधिकरणले जनाएको छ।