पश्चिमी वायुको प्रभावः पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने सम्भावना

User Image Prime TV News ४ घण्टा अगाडि
Image of पश्चिमी वायुको प्रभावः पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने सम्भावना

काठमाडौ । देशमा अहिले पश्चिमी न्यून चापीय रेखा (ट्रफ) र स्थानीय वायुको आंशिक प्रभाव देखिएकाले विभिन्न क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ। तराईका धेरै स्थानमा भने आंशिक बदली रहेको जनाइएको छ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित हिमाली क्षेत्रमा बदली रहने तथा मधेश प्रदेशसहित अन्य पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।

कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। केही हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।

यता मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तापक्रम बढ्ने सम्भावना रहेको छ। अत्यधिक गर्मी हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

महाशाखाले रातिको समयमा पनि कोशी प्रदेशसहित हिमाली क्षेत्रमा बदली रहने तथा केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाएको छ।

मौसममा लगातार परिवर्तन भइरहेकाले अद्यावधिक मौसम सूचना नियमित रूपमा हेर्न र चट्याङ तथा गर्मीबाट बच्न सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।