‘मलाई पनि राजदूत बन्न मन छ’ भन्दै प्रधानमन्त्री बालेनको व्यङ्ग्य
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक टिप्पणी गर्दै आफूलाई पनि राजदूत बन्न मन लागेको बताएका छन्।
गए राति गरिएको पोस्टमा उनले लेखेका छन्, “मलाई पनि राजदूत बन्न मन छ। प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुस् न।” प्रधानमन्त्रीको उक्त स्टाटसपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्।
कतिपयले यसलाई सरकारभित्रकै घटनामाथिको व्यङ्ग्यका रूपमा लिएका छन् भने केहीले यो प्रधानमन्त्रीकै आधिकारिक अकाउन्ट हो वा होइन भनेर प्रश्नसमेत गरेका छन्।
प्रधानमन्त्रीको पोस्टमा सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले पनि टिप्पणी गर्दै “म्यासेज गर्दिम् ?” लेखेका छन्। त्यसपछि सामाजिक सञ्जालमा यो संवाद थप चर्चाको विषय बनेको छ।
पछिल्लो समय एक सरकारी सचिवले आफूलाई राजदूत बन्न इच्छा रहेको भन्दै प्रधानमन्त्रीलाई सन्देश पठाएको विषय सार्वजनिक भएको थियो। त्यसपछि ती सचिव दिनभर प्रहरीको सोधपुछमा परेका थिए।
प्रधानमन्त्री शाहको पछिल्लो अभिव्यक्तिलाई सोही घटनामाथिको कटाक्ष र व्यङ्ग्यका रूपमा हेरिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको यस्तो शैलीलाई लिएर समर्थन र आलोचना दुवै भइरहेको छ ।







