अछाममा छाउपडीकै कारण ढुङ्गा खस्दा आमाछोरीसहित दुईको ज्यान गयो

User Image Prime TV News एक महिना अगाडि
Image of अछाममा छाउपडीकै कारण ढुङ्गा खस्दा आमाछोरीसहित दुईको ज्यान गयो

काठमाडौ । अछामको पञ्चदेवल विनायक नगरपालिका–८ स्थित सेलापानीमा महिनावारी भएका महिलाहरू असुरक्षित स्थानमा बस्दा दुई जनाको निधन भएको छ ।

शुक्रबार बिहान करिब ५:३० बजे चुरखोली टोलकी ३६ वर्षीया रत्ना भण्डारी, उनकी ७ वर्षीया छोरी कविता भण्डारी, र ३५ वर्षीया निम खनाल त्रिपाल टाँगेर सुतिरहेका बेला भीरबाट खसेको ढुङ्गा लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृतकहरूमा कविता भण्डारी र निम खनाल रहेका छन्। घाइते रत्ना भण्डारीको टाउकोमा चोट लागेको छ र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई प्राथमिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी बारलामा पठाइएको छ भने थप उपचारका लागि अन्यत्र रिफर गर्ने तयारी भइरहेको छ।

महिनावारी भएपछि छाउपडी प्रथाअनुसार महिलाहरूलाई घरबाट अलग राख्ने चलन अझै पनि अछाममा कायम छ। यसै कारण रत्ना भण्डारी, उनकी छोरी कविता र निम खनाल खेतको छेउमा अस्थायी रूपमा त्रिपाल टाँगेर बसिरहेका थिए।

प्रहरीका अनुसार लगातारको वर्षाका कारण पहिरो जस्तै ढङ्गमा ढुङ्गा खसेर उनीहरू बसेको स्थानमा ठोक्किएको हो। घटनापछि जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक टेकबहादुर देउवाको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलतर्फ गएको छ।

उक्त स्थानमा पुग्न झन्डै दुई घण्टा पैदल यात्रा गर्नुपर्ने बताइएको छ। मृतक निम खनालका तीन सन्तान रहेका छन्। उनका श्रीमान्को एक वर्षअघि निधन भएको थियो। अब ती बालबालिका आमा-बुबा दुवैविना टुहुरा भएका छन् ।