रास्वपाको आज २८ जिल्लामा अधिवेशन, महाधिवेशनअघि ६७ जिल्लामा संगठन विस्तार गर्ने तयारी

User Image Prime TV News एक घण्टा अगाडि
Image of रास्वपाको आज २८ जिल्लामा अधिवेशन, महाधिवेशनअघि ६७ जिल्लामा संगठन विस्तार गर्ने तयारी

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज देशका २८ जिल्लामा पहिलो जिल्ला अधिवेशन गर्दैछ। पार्टीले महाधिवेशनअघि संगठनलाई वैधानिक संरचनामा लैजान देशभर अधिवेशन अभियान चलाएको हो।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज कोशी प्रदेशका चार, मधेशका चार, बागमतीका दुई, गण्डकीका चार, लुम्बिनीका तीन, कर्णालीका छ र सुदूरपश्चिमका पाँच जिल्लामा अधिवेशन हुन लागेको छ।

आज उदयपुर, सोलुखुम्बू, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम पश्चिम, मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुने कार्यक्रम रहेको छ।

निर्वाचन प्रक्रिया निष्पक्ष बनाउन प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति खटाइएको आयोगले जनाएको छ। यसअघि शनिबार पार्टीले ३८ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ। ती जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको पार्टीले जनाएको छ।

रास्वपाले जिल्ला अधिवेशनलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संगठनमा रूपान्तरण गर्ने महत्वपूर्ण चरणका रूपमा लिएको छ। पार्टीले आन्तरिक लोकतन्त्रलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।

विशेष संगठनात्मक कारणले बारा जिल्लाको अधिवेशन भने जेठ २६ गते हुने जनाइएको छ। पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लाको अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ। बाँकी १० जिल्लाको अधिवेशन महाधिवेशनपछि गरिनेछ।

रास्वपाले जेठ २६ गतेदेखि प्रदेश अधिवेशन पनि सुरु गर्ने तयारी गरेको छ। त्यसका लागि सातै प्रदेशमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवन मा हुने तय गरिएको छ।