ओमानलाई ८ विकेटले हराउँदै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
सिंगापुरस्थित सिंगा ओभल मैदानमा आइतबार बिहान सम्पन्न खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा लोकेश बमले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ४४ रन बनाए। कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे भने कुशल भुर्तेलले २० रनको योगदान दिए। आसिफ शेखले १ रन बनाएर आउट भए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमै समेटिएको थियो। ओमानका कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबेर अली अकबरले २२ रन जोडे। नेपालका बलर करण केसीले ३ विकेट लिएर विपक्षी टोलीलाई दबाबमा राखे। सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने शाहब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १–१ विकेट हात पारे।
अब नेपालले उपाधिका लागि हङकङ र मलेसियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यस प्रतियोगिताको सेमिफाइनलमा पुगेका नेपाल, ओमान, हङकङ र मलेसिया चारै टोली आगामी एसियन गेम्सका लागि छनोट भइसकेका छन्।







