‘नयाँ पुस्ताको नेतृत्व विगतका बोझबाट मुक्त छ’ : भारत भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनाल
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । भारतका विदेशमन्त्री डा. एस. जयशङ्करको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले आफू नेपालको नयाँ राजनीतिक यथार्थको प्रतिनिधित्व गरिरहेको बताएका छन्।
भ्रमणको अन्तिम दिन नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले नयाँ पुस्ताको नेतृत्व नागरिकबाट प्राप्त ऐतिहासिक जनादेशको परिणाम भएको बताए। उनका अनुसार यस नेतृत्वको मूल आधार सम्झौताविहीन सुशासन, योग्यता आधारित प्रणाली (मेरिटोक्रेसी) र प्रत्यक्ष जवाफदेहिता हो।
खनालले नयाँ पुस्ताको नेतृत्वको सबैभन्दा ठूलो शक्ति विगतका राजनीतिक बोझ र गल्तीबाट मुक्त हुनु रहेको उल्लेख गरे। “हामी नेतृत्वको नयाँ पुस्ता भएका कारण विगतका कुनै पनि बोझबाट पूर्ण रूपमा मुक्त छौं, र यही विशेषताले भविष्यमुखी सम्बन्ध निर्माणमा योगदान पुर्याउनेछ,” उनले भने।
सञ्चारमाध्यमको भूमिकाबारे चर्चा गर्दै उनले लोकतान्त्रिक समाजमा पत्रकारिता अपरिहार्य स्तम्भ भएको बताए। उनका अनुसार सञ्चारमाध्यमले नेपाल र भारतका जनताबीच आपसी समझदारी बढाउने तथा साझा भविष्यको सकारात्मक भाष्य निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी वहन गर्छ।
नेपाल र भारतबीचको सम्बन्ध केवल भौगोलिक सीमामा सीमित नभएको उल्लेख गर्दै उनले दुई देशलाई साझा इतिहास, संस्कृति, सभ्यता, हिमालय, नदी प्रणाली र प्राचीन ज्ञान–परम्पराले गहिरो रूपमा जोडेको धारणा राखे।
भ्रमणका क्रममा आफू र नेपाली प्रतिनिधिमण्डलप्रति देखाइएको आत्मीयता, आतिथ्य र सहयोगका लागि उनले भारत सरकारप्रति आभार व्यक्त गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।







