१३ देशका राजदूतका लागि झन्डै चार हजार आवेदन, एउटै व्यक्तिले १० देशका लागि दिए दरखास्त

User Image Prime TV News एक महिना अगाडि
Image of १३ देशका राजदूतका लागि झन्डै चार हजार आवेदन, एउटै व्यक्तिले १० देशका लागि दिए दरखास्त

काठमाडौ । नेपाल सरकारले पहिलो पटक खुला प्रतिस्पर्धा मार्फत राजदूत नियुक्ति प्रक्रिया अघि बढाएपछि १३ देशका लागि झन्डै चार हजार आवेदन परेको छ। परराष्ट्र मन्त्रालयका अनुसार करिब तीन हजार व्यक्तिबाट करिब चार हजार आवेदन प्राप्त भएका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार एकै व्यक्तिले एकभन्दा बढी देशका लागि आवेदन दिएका कारण आवेदन संख्या आवेदक भन्दा बढी पुगेको हो। उनका अनुसार केही व्यक्तिले १० वटासम्म देशका लागि आफू योग्य रहेको दाबी गर्दै दरखास्त दिएका छन्।

मन्त्रालयले जेठ १४ गते सूचना जारी गर्दै अमेरिका, चीन, भारत, बेलायत, अस्ट्रेलिया, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अस्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गर्न खुला आवेदन आह्वान गरेको थियो। आवेदन दिने अन्तिम मिति जेठ २२ गते साँझ ५ बजेसम्म तोकिएको थियो।

यस प्रक्रियामा इच्छुक व्यक्तिले स्वयं आवेदन दिन सक्ने व्यवस्था गरिनुका साथै योग्य उम्मेदवारको नाम अन्य व्यक्ति वा संस्थाले पनि सिफारिस गर्न सक्ने प्रावधान राखिएको थियो। म्याद नाघेका वा मापदण्ड नपुगेका आवेदन भने छनोट प्रक्रियामा समावेश नगरिने मन्त्रालयले जनाएको छ।

प्राप्त आवेदनको अध्ययनपछि मन्त्रालयले योग्यता र उपयुक्तताका आधारमा प्रारम्भिक सूची तयार गरी सर्टलिस्ट गर्नेछ। त्यसपछि छनोटमा परेका उम्मेदवारलाई मात्र थप मूल्यांकन तथा अन्तर्वार्ताका लागि सम्पर्क गरिनेछ।

राजदूत नियुक्तिका लागि तयार गरिएको ‘टर्म्स अफ रिफरेन्स’ अनुसार उम्मेदवार कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक तथा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण हुनुपर्नेछ। साथै विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीतिक क्षेत्रमा अनुभव, उच्च नैतिक आचरण, अंग्रेजी भाषामा राम्रो दखल तथा नेपालको प्रभावकारी प्रतिनिधित्व गर्न सक्ने क्षमता अनिवार्य मानिएको छ।

विदेशी स्थायी बसोबास अनुमति (पीआर) वा अन्य अध्यागमन सुविधा लिएका व्यक्ति, भ्रष्टाचार वा नैतिक पतनसम्बन्धी मुद्दामा दोषी ठहर भएका व्यक्ति तथा अन्तर्राष्ट्रिय सहयोग प्राप्त गैरसरकारी संस्थामा कार्यरत व्यक्तिलाई राजदूत नियुक्तिका लागि अयोग्य ठहर गरिएको छ ।