रास्वपा बारामा नेतृत्व चयन विवाद, कार्यकर्ताले उपनिर्वाचन खारेज गर्न माग
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको कलैया उपमहानगरपालिका अधिवेशनपछि नेतृत्व चयन प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ। अधिवेशनबाट निर्वाचित नेतृत्वलाई मान्यता नदिई पुनः उपनिर्वाचन गराइएको भन्दै स्थानीय कार्यकर्ताले त्यसको खारेजीको माग गरेका छन्।
उनीहरुले रास्वपाको केन्द्रीय कार्यालय बनस्थलीमा कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । कार्यकर्ताहरूका अनुसार जेठ १७ गते सम्पन्न अधिवेशनमा उमाशंकर रनिया १२४ मतसहित नगर सभापतिमा निर्वाचित भएका थिए। निर्वाचन परिणाम सार्वजनिक भएपछि उनको शपथ ग्रहण समेत सम्पन्न गरिएको थियो। तर त्यसको दुई दिनपछि ह्वाट्सएप समूहमार्फत पुनः उपनिर्वाचन हुने सूचना सार्वजनिक भएपछि विवाद सुरु भएको हो।
रास्वपा कार्यकर्ता धिराज पटेलले निर्वाचन सम्पन्न भएर विजेता घोषणा भइसकेको अवस्थामा पुनः निर्वाचन गराउनु विधान र लोकतान्त्रिक अभ्यासविपरीत भएको बताए। उनका अनुसार उपनिर्वाचनसम्बन्धी सूचना आधिकारिक पत्र वा जिम्मेवार पदाधिकारीको हस्ताक्षरबिनै सार्वजनिक गरिएको थियो।
कार्यकर्ताहरूले ‘५० प्रतिशतभन्दा बढी मत प्राप्त नभएको’ आधारमा पुनः निर्वाचन गराइएको भनिए पनि उक्त विषय निर्वाचनकै क्रममा किन नउठाइएको भन्ने प्रश्न गरेका छन्। उनीहरूले विजयी उम्मेदवारलाई माला लगाएर शपथग्रहण गराइसकेपछि पुनः निर्वाचन गराउनु अनुचित भएको दाबी गरेका छन्।
यस्तै, उपनिर्वाचनमा सबै प्रतिनिधिलाई सहभागी गराइएको नभई सीमित व्यक्तिहरूबीच मात्र प्रक्रिया सञ्चालन गरिएको आरोपसमेत कार्यकर्ताहरूले लगाएका छन्। उनीहरूले उपनिर्वाचनको कानुनी र विधानगत आधार सार्वजनिक गर्न तथा विवादको निष्पक्ष समाधान खोज्न पार्टी नेतृत्वसँग माग गरेका छन्।
कार्यकर्ताहरूले पार्टीभित्र पारदर्शिता र विधिको शासन कायम हुनुपर्नेमा जोड दिँदै पछिल्लो घटनाले परिवर्तनको अपेक्षासहित पार्टीमा आबद्ध भएका समर्थकहरू निराश बनेको बताएका छन्।







