फिलिपिन्समा शक्तिशाली भूकम्प, जापान र इन्डोनेसियासम्म सुनामी चेतावनी
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि फिलिपिन्ससहित इन्डोनेसिया र जापानले सुनामीको चेतावनी जारी गरेका छन्।
स्थानीय समयअनुसार बिहान ७:३७ बजे मिन्डानाओ टापु नजिकको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पपछि समुद्रमा ठूलो छाल उठ्न सक्ने जोखिम बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ।
फिलिपिन्स ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थान (फिभोल्क्स) का अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो र यसको गहिराइ १० किलोमिटर रहेको थियो।
तर अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड मापन गरेको छ। यूएसजीएसका अनुसार भूकम्प ३५ किलोमिटर गहिराइमा गएको थियो।
त्यस्तै जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेज ले पनि भूकम्प ७.८ म्याग्निच्युडकै रहेको जनाएको छ। उसले भूकम्पको गहिराइ ५० किलोमिटर रहेको उल्लेख गरेको छ।
भूकम्पपछि सम्भावित सुनामीको जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रमा बसोबास गर्ने मानिसलाई सतर्क रहन आग्रह गरिएको छ। हालसम्म मानवीय क्षति वा ठूलो भौतिक क्षतिको आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन।
प्रशान्त महासागरीय क्षेत्रमा लगातार शक्तिशाली भूकम्प आइरहने भएकाले यस्तो अवस्थामा सानो लापरबाही पनि भयावह बन्न सक्छ।







