समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाले बोलायो सर्वदलीय बैठक
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले देशको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाएको छ।
पार्टी सभापति रवि लामिछानेले आज बिहान ९ बजेका लागि बैठक आह्वान गरेका हुन्। बैठक सिंहदरबार स्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ।
रास्वपाका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को प्रभावकारिता तथा राष्ट्रिय महत्वका विषयमा छलफल हुनेछ। संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई बैठकमा सहभागी हुन अनुरोध गरिएको छ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार प्रत्येक दलबाट अध्यक्ष वा सभापतिसहित दुई जना नेतालाई सहभागी हुन आग्रह गरिएको छ। छलफललाई निर्णयमुखी र व्यवस्थित बनाउन यस्तो व्यवस्था गरिएको उनले बताए।
रास्वपाले संसदमा रहेका दलहरूबीच प्रत्यक्ष संवाद आवश्यक रहेको भन्दै अहिलेको राजनीतिक गतिरोध अन्त्य गर्न सर्वदलीय सहमति जरुरी रहेको धारणा राखेको छ।
पछिल्लो समय संसद् प्रभावहीन बन्दै गएको, दलहरूबीच अविश्वास बढेको र राष्ट्रिय मुद्दा ओझेलमा परेको आलोचना भइरहेका बेला रास्वपाको यो पहललाई अर्थपूर्ण रूपमा हेरिएको छ।







