इरान–इजरायल तनाव बढ्यो, इरानले हवाई क्षेत्रको केही भाग बन्द गर्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । इरान र इजरायल बीच फेरि सैन्य तनाव बढेको छ। इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि आफ्नो हवाई क्षेत्रको केही भाग बन्द गरेको हो।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको आक्रमणको जवाफस्वरूप क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ। आईआरजीसीले यी हमला केवल 'प्रारम्भिक चेतावनी' भएको दाबी गरेको छ।
इरानी सरकारी समाचार संस्था इरना का अनुसार सुरक्षा अवस्थालाई ध्यानमा राख्दै देशको पश्चिमी क्षेत्रको हवाई मार्ग अर्को सूचना नभएसम्म बन्द गरिएको छ। तनाव बढेपछि इराक र सिरियाले पनि आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्।
आईआरजीसीले इजरायलले आक्रमण जारी राखे अमेरिकी र इजरायली सैन्य ठेगानामाथि थप हमला गरिने चेतावनी दिएको छ। इरानी सैन्य अधिकारी अली अब्दोल्लाहीले इजरायलले आफ्नो सैन्य कारबाही नरोके अझ ठूलो प्रतिक्रिया भोग्नुपर्ने बताएका छन्।
यता इजरायली सेनाले भने इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रहरूलाई बीचमै रोकिएको दाबी गरेको छ। सेनाले हवाई रक्षा प्रणाली पूर्ण रूपमा सक्रिय अवस्थामा रहेको जनाएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई थप युद्ध नबढाउन आग्रह गरेका छन्। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू लाई जवाफी हमला नगर्न सुझाव दिने बताएका छन्। मध्यपूर्वमा लगातार बढिरहेको सैन्य तनावले फेरि ठूलो युद्धको जोखिम बढाएको छ।







