इरानमाथि तत्काल हमला नगर्न ट्रम्पको नेतन्याहुलाई आग्रह
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सँग टेलिफोन वार्ता गर्दै इरान विरुद्ध तत्काल प्रतिशोधात्मक आक्रमण नगर्न आग्रह गरेका छन्।
एक अमेरिकी अधिकारीका अनुसार ट्रम्पले क्षेत्रीय तनाव थप चर्किन नदिन र जारी कूटनीतिक प्रयास जोगाउन यस्तो आग्रह गरेका हुन्।
सिएनएनका अनुसार ट्रम्पले नेतन्याहुलाई मध्यपूर्वमा युद्धको अवस्था थप बिग्रन सक्ने चेतावनी दिएका थिए। उनले इरानसँग सम्भावित सम्झौताको बाटो अझै खुला रहेको विश्वाससमेत व्यक्त गरेका छन्।
इजरायली सेनाले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रहरू रोकिएको दाबी गरेको केही समयपछि दुई नेताबीच यो वार्ता भएको हो। अप्रिलको सुरुवातपछि इरानबाट आएको यो पहिलो ठूलो क्षेप्यास्त्र हमला मानिएको छ।
गत साता ट्रम्प र नेतन्याहूबीचको वार्ता तनावपूर्ण रहेको चर्चा भए पनि आइतबारको संवाद भने अपेक्षाकृत सहज रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
वार्ताअघि नै ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै थप सैन्य कारबाही आवश्यक नरहेको संकेत दिएका थिए। त्यसैले नेतन्याहूका लागि उनको सन्देश अप्रत्याशित नभएको अनुमान गरिएको छ।
मध्यपूर्वमा इजरायल र इरानबीचको बढ्दो तनावका कारण ठूलो युद्धको जोखिम बढिरहेका बेला अमेरिकाले अहिले प्रत्यक्ष युद्धभन्दा कूटनीतिक समाधानतर्फ जोड दिन खोजिरहेको देखिन्छ।







