तीन सातापछि सर्वोच्च अदालत फर्किइन् वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब तीन साताको बिदापछि सोमबारदेखि पुनः न्यायिक जिम्मेवारीमा फर्किएकी छन्।
प्रधानन्यायाधीश डा. मनोज शर्मा नियुक्त भएको दिनदेखि बिदामा रहेकी मल्लले सोमबारदेखि नियमित रूपमा इजलास सम्हाल्ने भएकी हुन्। सर्वोच्च अदालतले तय गरेको इजलास सूचीअनुसार उनले सोमबार पहिलो चरणमा एकल इजलासको नेतृत्व गर्नेछिन्।
त्यसपछि न्यायाधीश मेघराज पोखरेलसँग संयुक्त इजलासमा बसेर विभिन्न मुद्दाको सुनुवाइ गर्ने कार्यक्रम रहेको छ। वरिष्ठ न्यायाधीश मल्लको अदालतमा पुनरागमनसँगै सर्वोच्च अदालतको न्याय सम्पादन प्रक्रियामा उनको सक्रिय भूमिका पुनः सुरु भएको छ। लामो बिदापछि उनी नियमित न्यायिक कार्यमा फर्किएकी हुन्।







