सर्वदलीय बैठकमा सरकारको अभिव्यक्तिमाथि विपक्षीको प्रश्न, संवेदनशील विषयमा संयम अपनाउन सुझाव

User Image Prime TV News ३ दिन अगाडि
Image of सर्वदलीय बैठकमा सरकारको अभिव्यक्तिमाथि विपक्षीको प्रश्न, संवेदनशील विषयमा संयम अपनाउन सुझाव

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा सहभागी विपक्षी दलका नेताहरूले सरकारका पछिल्ला अभिव्यक्ति र गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा प्रतिपक्ष संख्यात्मक रूपमा कमजोर रहे पनि त्यसको फाइदा उठाएर संवैधानिक मूल्य र शक्ति पृथकीकरणको सिद्धान्त कमजोर पार्ने प्रयास नगर्न सरकारलाई आग्रह गरिएको बताए।

उनले सरकारका केही कदमले सकारात्मक सन्देश नदिएको उल्लेख गर्दै लोकतन्त्रमा सत्ता पक्षसँगै प्रतिपक्षको भूमिकालाई पनि सम्मान गर्नुपर्ने धारणा राखे। देश चुनाव जित्ने दलको मात्र नभई सबै नागरिकको भएकाले निर्णय गर्दा दीर्घकालीन प्रभावलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो।

लिङ्देनले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति तथा रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा व्यक्त गरेको ‘हामी विगतको भारी बोक्दैनौँ’ भन्ने भनाइप्रति पनि बैठकमा ध्यानाकर्षण गराइएको जानकारी दिए।

उनका अनुसार उक्त अभिव्यक्तिले विगतमा राष्ट्रिय सहमतिका आधारमा भएका महत्वपूर्ण निर्णयसमेत अस्वीकार गरिएको अर्थ लाग्न सक्ने भएकाले विदेश नीति र राष्ट्रिय हितसँग जोडिएका विषयमा विशेष संवेदनशीलता अपनाउन आवश्यक रहेको सुझाव विपक्षी दलहरूले दिएका छन्।