रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न, १२ जिल्लामा निर्वाचन जारी
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले देशका ५६ जिल्लामा जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। केही जिल्लामा निर्वाचन प्रक्रिया जारी रहँदा केही स्थानमा भने अधिवेशन हुन बाँकी रहेको पार्टीले जनाएको छ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार हाल १२ जिल्लामा नेतृत्व चयनका लागि निर्वाचन भइरहेको छ। एक जिल्लाको अधिवेशन विभिन्न कारणले स्थगित गरिएको छ। त्यसैगरी डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ र मुस्ताङमा जिल्ला अधिवेशन अझै आयोजना हुन सकेको छैन।
जेठ २३ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनको चरण पूरा गर्दै रास्वपाले अब प्रदेश तहको संगठनात्मक प्रक्रिया अघि बढाउने भएको छ। निर्धारित कार्यतालिकाअनुसार जेठ २६ गतेदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुनेछ।
पार्टीले जिल्ला र प्रदेश अधिवेशनमार्फत संगठनलाई थप सुदृढ बनाउने, नयाँ नेतृत्व चयन गर्ने तथा आगामी राजनीतिक कार्यक्रमका लागि संगठनात्मक आधार बलियो बनाउने लक्ष्य राखेको जनाएको छ।








