सुनको भाउ लगातार ओरालो, तीन लाख रुपैयाँभन्दा तल झर्‍यो

User Image Prime TV News ३ दिन अगाडि
Image of सुनको भाउ लगातार ओरालो, तीन लाख रुपैयाँभन्दा तल झर्‍यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ। गत बिहीबारदेखि सुरु भएको गिरावट सोमबार पनि कायम रहँदा सुनको भाउ तीन लाख रुपैयाँभन्दा तल झरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला ९ सय रुपैयाँले कम हो। आइतबार सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँमा किनबेच भएको थियो।

यसअघि आइतबार मात्रै सुनको मूल्य प्रतितोला ८ हजार २ सय रुपैयाँले घटेको थियो। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर घटिरहेको देखिएको छ।

यता, चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। आइतबार प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ रहेको चाँदी सोमबार ४ हजार ९ सय ५ रुपैयाँ पुगेको छ। यससँगै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ३ सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। यसको प्रभाव आगामी दिनमा पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा पर्न सक्ने अनुमान गरिएको छ।