प्रदेशलाई पूर्ण स्वायत्तता दिनुपर्ने मागसहित जनमत पार्टीको काठमाडौंमा प्रदर्शन
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । प्रदेशलाई पूर्ण स्वायत्तता प्रदान गर्नुपर्ने लगायत विभिन्न माग राख्दै जनमत पार्टीले सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
यसअघि सरकारसँग भएको आठबुँदे सम्झौताको कार्यान्वयनको माग गर्दै पार्टीका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका हुन्। उनीहरूले प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुका साथै कर्मचारी प्रशासन र स्थानीय तहलाई प्रदेश सरकारको मातहत राख्नुपर्ने माग अघि सारे।
प्रदर्शनका क्रममा प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीलाई पनि प्रदेश सरकारअन्तर्गत ल्याउनुपर्ने, नेपाली सेनामा मधेशी र थारु समुदायको सामूहिक भर्ना सुनिश्चित गर्नुपर्ने तथा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग गरिएको थियो।
यस्तै, वैदेशिक रोजगारीसँग सम्बन्धित समस्याको दीर्घकालीन समाधान गर्नुपर्ने, किसानलाई समयमा मलखाद तथा सहज ऋण उपलब्ध गराउनुपर्ने र चुरे क्षेत्रमा भइरहेको दोहन तथा अतिक्रमण रोक्न सरकारसँग आग्रह गरिएको छ।
प्रदर्शनमा सहभागीहरूले मधेशी, थारु, दलित, मुस्लिम, आदिवासी, सुकुमवासी तथा अल्पसंख्यक समुदायमाथि हुने दमन, शोषण र विभेद अन्त्य गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए। जनमत पार्टीले आफूहरूले उठाएका मागहरू संविधानको प्रभावकारी कार्यान्वयन, समावेशी शासन व्यवस्था र संघीयताको सुदृढीकरणसँग जोडिएको भन्दै सरकारलाई सम्झौता कार्यान्वयनतर्फ गम्भीर हुन आग्रह गरेको छ ।







