आर्थिक विधेयक विवादमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग

User Image Prime TV News ३ दिन अगाडि
Image of आर्थिक विधेयक विवादमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन गर्न माग गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आर्थिक विधेयकमा रहेका करसम्बन्धी व्यवस्था फेरबदल भएको विषय गम्भीर भएकाले अर्थ मन्त्रालयले होइन, संसद्ले नै छानबिन समिति गठन गर्नुपर्ने बताए। शाहीले करका दर परिवर्तन सम्बन्धी सूचना बाहिरिनु सामान्य घटना नभएको भन्दै यसबारे निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए।

उनले यस्तो संवेदनशील जानकारी सीमित व्यक्तिलाई मात्र थाहा हुने भएकाले यसको चुहावटलाई गम्भीर रूपमा लिनुपर्ने बताए । उनले सरकारले सुशासनको नारासहित जनताको विश्वास जितेको उल्लेख गर्दै अहिले त्यही विश्वासमाथि प्रश्न उठ्ने काम नगर्न आग्रह गरे। कुशासनतर्फ नलाग्न सरकारलाई सचेत गराउँदै उनले पारदर्शिता र जवाफदेहितामा जोड दिए।

पछिल्लो समय संसदमा दर्ता भएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको विधेयकबीच फरक देखिएको भन्दै सरकारको आलोचना भइरहेको छ। संसदमा पेश गरिएको विधेयक ४६४ पृष्ठको रहेकामा वेबसाइटमा राखिएको संस्करण ४४८ पृष्ठको रहेको छ, जसमा १६ पृष्ठ हटाइएको देखिएको छ।

संसदीय जानकारहरूका अनुसार संसद दर्ता भइसकेको विधेयकमा कुनै परिवर्तन गर्न संसद्को स्वीकृति आवश्यक हुन्छ। संसदमा संशोधन प्रस्ताव पारित नगरी मन्त्रालयले आफैं विधेयक सच्याउने कानुनी व्यवस्था नरहेको बताइन्छ।