एसियन गेम्स क्रिकेट छनोट फाइनलमा नेपाललाई १८९ रनको लक्ष्य
Prime TV News २ दिन अगाडि 
काठमाडौ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा हङकङले नेपालसामु १८९ रनको चुनौती प्रस्तुत गरेको छ।
सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो। हङकङका लागि अन्शुमन रथले उत्कृष्ट प्रदर्शन गर्दै ४५ बलमा ६ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ८० रन बनाए।
शाहिद वासिफले २८ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ५५ रन जोडे। शिव माथुरले २६ रनको योगदान दिए। अन्शुमन र शिवबीच पाँचौँ विकेटका लागि ८४ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो। नेपालका बलरमध्ये शेर मल्ल सबैभन्दा सफल रहे। उनले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। करण केसीले २ विकेट हात पार्दा सन्दीप लामिछानेले १ विकेट लिए।
फाइनलमा दुवै टोली अपराजित रहँदै उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्। नेपालले समूह चरणमा मलेसिया र चीनलाई पराजित गर्दै सेमिफाइनलमा ओमानलाई हराएको थियो। यता हङकङले समूह चरणमा ओमान, बहराइन र सिंगापुरलाई पराजित गरेको थियो भने सेमिफाइनलमा मलेसियामाथि जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।
अब उपाधि जित्न नेपालले निर्धारित २० ओभरमा १८९ रन बनाउनुपर्नेछ।







