साताको पहिलो दिन सेयर बजारमा गिरावट, नेप्से २० अंकले घट्यो
Prime TV News २ दिन अगाडि 
काठमाडौ । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेर २७३५ अंकमा पुगेको छ। यसअघि पनि बिहीबार र शुक्रबार लगातार बजार ओरालो लागेको थियो।
आज कारोबार सुरु भएको केही मिनेटमै बजार घट्न थालेको थियो। अन्तिमसम्म पनि बजार रातो अंकमै रहेपछि अधिकांश कम्पनीका लगानीकर्ताले घाटा बेहोर्नुपर्यो। कारोबारका क्रममा ४१ कम्पनीको सेयर मूल्य बढ्दा २२३ कम्पनीको मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। शुक्रबार ५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ४ अर्ब ८ करोड रुपैयाँमा सीमित रह्यो। समूहगत सूचकतर्फ फाइनान्स बाहेक सबै क्षेत्र ओरालो लागेका छन्। फाइनान्स समूह ०.२६ प्रतिशतले बढ्दा व्यापार, विकास बैंक, हाइड्रोपावर, बैंकिङ, होटल तथा पर्यटन, बीमा, माइक्रोफाइनान्स र अन्य समूहका सूचक घटेका छन्।
आज सबैभन्दा बढी नाफा कमाउने कम्पनी कालिन्चोक हाइड्रोपावर रह्यो, जसको सेयर मूल्य १५ प्रतिशतले बढ्यो। त्यसपछि क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, सोपान फर्मास्युटिकल्स र सामुदायिक लघुवित्तको सेयर मूल्य उल्लेखनीय रूपमा बढेको छ।
यता उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ७.१४ प्रतिशतले घट्यो। सयपत्री हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावरको सेयर मूल्य पनि उल्लेखनीय रूपमा घटेको छ। कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत्, सिटी होटल, रिलायन्स स्पिनिङ मिल्स र नेसनल हाइड्रोपावर सबैभन्दा बढी कारोबार भएका कम्पनी बने।







