कांग्रेसले पूर्वमन्त्री दीपक खड्कासहित तीन नेतालाई स्पष्टीकरण सोध्यो
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्वमन्त्री तथा पूर्व आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्कासहित संखुवासभाका तीन जना नेतासँग स्पष्टीकरण मागेको छ।
अनुशासन समितिले खड्कासँगै संखुवासभा जिल्ला कार्यसमितिका सचिव कुमार बाबु अधिकारी र महाधिवेशन प्रतिनिधि थलकुमार लिंखालाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा पाँच दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो।
समितिका सचिव दिनेश थापामगरले हस्ताक्षर गरेको पत्रमा उनीहरूमाथि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गरेको र विपक्षी उम्मेदवारलाई जिताउन भूमिका खेलेको आरोप लगाइएको छ।
पत्रअनुसार २०८२ साल फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा संखुवासभाबाट कांग्रेसका उम्मेदवार दीपनकुमार श्रेष्ठविरुद्ध संगठित रूपमा अन्तर्घात भएको उजुरी परेको थियो । दीपक खड्काले चुनावी अभियानका क्रममा पार्टीको नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको तथा कांग्रेसले चुनाव जित्न नसक्ने भन्दै कार्यकर्तालाई आफ्नो इच्छाअनुसार काम गर्न भनेको आरोप पनि पत्रमा उल्लेख गरिएको छ।
यस्तै, कुमार बाबु अधिकारी र थलकुमार लिंखाले पनि पार्टीविरोधी गतिविधिमा संलग्न भएर कार्यकर्तालाई चुनावी कार्यक्रममा सहभागी नहुन आग्रह गरेको र भित्री रूपमा विपक्षी दलका उम्मेदवारलाई सहयोग गरेको आरोप लगाइएको छ।
अनुशासन समितिले यस्ता गतिविधि नेपाली कांग्रेसको विधानअनुसार गम्भीर अनुशासन उल्लंघन भएको जनाएको छ। साथै, किन कारबाही नगर्ने भन्ने आधार भए पाँच दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अन्तिम अवसर दिइएको छ। समितिले तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआए पार्टी विधानअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ।








