नेपाल एसियन गेम्स छनोट क्रिकेटको च्याम्पियन, हङकङलाई डिएलएसमा १९ रनले हरायो

User Image Prime TV News २ दिन अगाडि
Image of नेपाल एसियन गेम्स छनोट क्रिकेटको च्याम्पियन, हङकङलाई डिएलएसमा १९ रनले हरायो

काठमाडौ । नेपालले एसियन गेम्स २०२६ पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सिंगापुरमा सोमबार भएको फाइनलमा हङकङलाई डिएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअनुसार १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।

यससँगै नेपाल, हङकङ, मलेसिया र कुवेत आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्सका लागि छनोट भएका छन्। फाइनलमा हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। त्यसपछि खेल पुनः सञ्चालन हुन नसकेपछि डिएलएस पद्धतिअनुसार नेपाल विजयी घोषित भयो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ४० बलमा ८ चौका र ३ छक्काको सहयोगमा ६५ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरी ४ बलमा ९ रन र रोहितकुमार पौडेल २४ बलमा ३५ रन बनाएर अविजित थिए। अर्का ओपनर आसिफ शेख भने पहिलो बलमै आउट भएका थिए।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले हङकङलाई २० ओभरमा ७ विकेटमा १८८ रनमा रोक्न सफल भएको थियो। हङकङका अंशुमन रथले ४५ बलमा ८० रन तथा शाहिद वासिफले २८ बलमा ५५ रन बनाएर टोलीलाई प्रतिस्पर्धात्मक योगफलतर्फ पुर्‍याएका थिए।

नेपालका बलरमध्ये शेर मल्लले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। करण केसीले २ विकेट हात पार्दा सन्दीप लामिछानेले १ विकेट लिए। उत्कृष्ट टोली प्रदर्शनका साथ नेपालले प्रतियोगिताको उपाधि जित्दै एसियन गेम्सको तयारीमा थप आत्मविश्वास हासिल गरेको छ।