विद्युत् महसुल बक्यौता छिटो असुल गर्न ऊर्जामन्त्रीको निर्देशन

User Image Prime TV News २ दिन अगाडि
Image of विद्युत् महसुल बक्यौता छिटो असुल गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री बिराज भक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुलको बक्यौता रकम असुलीलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । 

प्राधिकरण सञ्चालक समिति र उपकार्यकारी निर्देशकहरूसँग भएको छुट्टाछुट्टै बैठकमा मन्त्री श्रेष्ठले लामो समयदेखि बक्यौता रकम अल्झिएको भन्दै छिटो असुली प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन्।

उनले सञ्चालक समितिले प्रशासकीय पुनरावलोकन समिति गठन गरिसकेको उल्लेख गर्दै विद्युत् महसुल र जरिवानासम्बन्धी विवाद सोही समितिमार्फत टुंग्याउन सकिने बताए। अन्य प्रशासनिक काम भने नियमित प्रक्रियाअनुसार अघि बढाउन उनले निर्देशन दिए।

मन्त्री श्रेष्ठले बक्यौता असुलीका लागि मन्त्रालयको निर्देशन पर्खेर बस्न नहुने भन्दै प्राधिकरणको व्यवस्थापनले कानुन र नियमअनुसार आफ्नै संयन्त्र परिचालन गरेर काम गर्नुपर्ने बताए। उनका अनुसार यस विषयमा विगतमा पर्याप्त अध्ययन, छानबिन र निर्णय भइसकेकाले थप निर्णय आवश्यक छैन।

सबै पक्षलाई समान व्यवहार गर्दै कानुनी प्रक्रिया अनुसार बक्यौता उठाउनुपर्ने उनले जोड दिए। मन्त्री श्रेष्ठले डेडिकेटेड फिडर, ट्रंक लाइन, इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र तथा सडक बत्तीलगायत सबै क्षेत्रबाट बाँकी रहेको महसुल असुल गर्न प्राधिकरण सक्रिय हुनुपर्ने बताए। कानुनी प्रक्रियामा रहेका विषयबाहेक अन्य क्षेत्रमा असुलीमा ढिलाइ गर्न नहुने उनको भनाइ छ।

महालेखा परीक्षकको ६३औँ प्रतिवेदनअनुसार विद्युत् महसुल बक्यौता करिब ५० अर्ब १ करोड रुपैयाँ रहेको उल्लेख गरिएको छ।