सरकारले १० सचिवको सरुवा गर्यो, विभिन्न मन्त्रालयमा जिम्मेवारी हेरफेर
Prime TV News २ दिन अगाडि 
काठमाडौ । सरकारले १० जना सचिवको सरुवा गर्दै विभिन्न मन्त्रालय र निकायमा नयाँ जिम्मेवारी तोकेको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने जिम्मेवारी दिइएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ। उपराष्ट्रपतिको कार्यालयमा कार्यरत डा. कृष्णहरि पुस्करलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा राखिएको छ।
नेपाल ट्रस्टको कार्यालयमा कार्यरत प्रमिलादेवी शाक्य बज्राचार्यलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिव बनाइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएको छ।
जल तथा ऊर्जा आयोगका सचिव दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्रमा पठाइएको छ। अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ। राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरजकुमार वैद्य र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डिल्लीराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
यस्तै, गण्डकी प्रदेशका प्रमुख सचिव डुण्डुराज घिमिरे निलम्बनमा रहेकाले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा राखिएको छ। सरुवा भएका सबै सचिवहरूले आफ्नो सरुवापत्र बुझिसकेको जनाइएको छ।







