दीपक भट्ट र शुलभ अग्रवालको अनुसन्धान म्याद फेरि तीन दिन थप
Prime TV News २ दिन अगाडि 
काठमाडौ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका दीपक भट्ट र शुलभ अग्रवालको थुना म्याद थप तीन दिन लम्ब्याएको छ।
सोमबारको आदेशसँगै दीपक भट्टको म्याद नवौँ पटक र शुलभ अग्रवालको म्याद आठौँ पटक थपिएको हो। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले म्याद थप गर्ने आदेश दिएको हो।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निवेदनपछि अदालतले अनुसन्धान जारी राख्न थप तीन दिनको अनुमति दिएको हो। विभागले अनुसन्धान अन्तिम चरणमा पुगेको भए पनि रायसहितको प्रतिवेदन तयार गर्न अझै केही समय आवश्यक रहेको जनाएको छ। सोही आधारमा अदालतले पुनः म्याद थप गरेको हो।
यसअघि पनि अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। साथै, बाँकी अनुसन्धान चाँडै सम्पन्न गरी रायसहितको प्रतिवेदन पेस गर्न विभागलाई निर्देशन दिएको थियो । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को व्यवस्था अनुसार अदालतले अनुसन्धानको आवश्यकता हेरेर थुना म्याद थप गर्ने आदेश दिएको जनाएको छ।







