प्रतिनिधिसभा बैठक आज बस्दै, बजेटमाथि छलफल सुरु हुने तयारी

User Image Prime TV News एक दिन अगाडि
Image of प्रतिनिधिसभा बैठक आज बस्दै, बजेटमाथि छलफल सुरु हुने तयारी

काठमाडौ । प्रतिनिधिसभा अन्तर्गतको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची रहेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने तथा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

अर्थमन्त्रीको प्रस्तावपछि संसदमा बजेटमाथिको औपचारिक छलफल सुरु हुने जनाइएको छ। त्यस्तै डा. विक्रम तिमिल्सिनाले चलचित्र विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम पनि रहेको छ। साथै कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गरिएको जानकारी गराइनेछ।

यस्तै वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रियसभाबाट तोकिएको समयभित्र फिर्ता नआएको जानकारी पनि सभालाई गराइनेछ।

पछिल्लो समय संसद् बारम्बार अवरुद्ध भइरहेका बेला आजको बैठकबाट बजेटमाथिको बहस अघि बढ्छ कि फेरि राजनीतिक विवादमै रोकिन्छ भन्ने चासो बढेको छ।