रास्वपाको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न, प्रदेश अधिवेशन आजदेखि

User Image Prime TV News एक दिन अगाडि
Image of रास्वपाको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न, प्रदेश अधिवेशन आजदेखि

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी अन्तर्गत देशभर सञ्चालन गरेको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको जनाएको छ।

रास्वपाका केन्द्रीय निर्वाचन विभाग प्रमुख भुवन केसीका अनुसार १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको छ भने केही जिल्लामा प्राविधिक कारणले अधिवेशन सुरु हुन बाँकी छ।

रास्वपाले जेठ २३ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको थियो। पार्टीको कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिएलगत्तै मंगलबारदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुने भएको छ।

पार्टी प्रवक्ता मनीष झा का अनुसार अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने केही जिल्लामा मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। विशेषगरी मधेस प्रदेशका केही जिल्लामा अझै मतदान जारी रहेको उनले बताए।

रास्वपाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। लुम्बिनी प्रदेश भने सबै जिल्लाको अधिवेशन सक्ने पहिलो प्रदेश बनेको छ।

कतिपय जिल्लामा भने विवाद, प्राविधिक समस्या वा व्यवस्थापन कमजोरीका कारण निर्वाचन प्रक्रिया रोकिएको छ। डोटी र बाजुरामा पुनः निर्वाचन हुने भएको छ भने मनाङ र मुस्ताङमा अझै अधिवेशन हुन सकेको छैन।

रास्वपाले वडा र पालिका तहको अधिवेशनपछि जिल्ला अधिवेशनमार्फत संगठन विस्तारलाई तीव्र बनाएको दाबी गरेको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ६ र ७ गते चितवन मा हुने तय भएको छ।

छोटो समयमै देशभर संगठन विस्तार गर्न खोजिरहेको रास्वपाका लागि अहिलेको अधिवेशन प्रक्रिया पार्टीको वास्तविक शक्ति परीक्षणका रूपमा पनि हेरिएको छ।