इजरायल–इरानबीच आक्रमण रोकियो, ट्रम्पले नेतन्याहूलाई दिए संयम अपनाउन चेतावनी

User Image Prime TV News एक दिन अगाडि
Image of इजरायल–इरानबीच आक्रमण रोकियो, ट्रम्पले नेतन्याहूलाई दिए संयम अपनाउन चेतावनी

काठमाडौ । इजरायल र इरान बीच जारी प्रत्यक्ष सैन्य आक्रमण हाललाई रोकिएको छ।

तर इरानले लेबनान र अन्य क्षेत्रमा इजरायलले आक्रामक गतिविधि जारी राखे पुनः सैन्य कारबाही सुरु हुने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू लाई तनाव नबढाउन कडा चेतावनी दिएका छन्।

ट्रम्पले आइतबार साँझ टेलिफोन वार्तामार्फत नेतन्याहूलाई संयम अपनाउन आग्रह गरेका थिए। ट्रम्पले इरानसँग सम्भावित सम्झौताको प्रयास जारी रहेको भन्दै थप हमला अनावश्यक हुन सक्ने बताएका थिए।

ट्रम्पले “बीबी, सावधान रहनुहोस्, नत्र तपाईं चाँडै एक्लो हुनुहुनेछ” भन्दै अमेरिकी समर्थन कमजोर हुन सक्ने संकेतसमेत दिएका थिए। यद्यपि नेतन्याहूले इरानी आक्रमणको जवाफ नदिँदा इजरायल कमजोर देखिने तर्क गरेका थिए।

दुई नेताबीचको वार्ता आक्रमण रोक्ने स्पष्ट प्रतिबद्धताबिना सकिएको बताइएको छ। यसअघि इजरायलले इरानको पेट्रोकेमिकल पूर्वाधार र तेहरान आसपासका क्षेत्रलाई निशाना बनाएर हमला गरेको थियो। त्यसको जवाफमा इरानले पनि मिसाइल प्रहार गरेको जनाएको छ।

अमेरिकी रक्षा अधिकारीहरूका अनुसार अमेरिकी सेना प्रत्यक्ष युद्धमा सहभागी नभए पनि इजरायलतर्फ प्रहार गरिएका मिसाइल रोक्न सहयोग गरिरहेको थियो।

रिपोर्टअनुसार इजरायलले सोमबार इरानका संवेदनशील लक्ष्यहरूमा ठूलो हमला गर्ने तयारी गरेको थियो। त्यसपछि ट्रम्पले पुनः नेतन्याहूलाई फोन गरेर कारबाही रोक्न आग्रह गरेका थिए।

पछि नेतन्याहूले इरानले तनाव नबढाए थप आक्रमण नगर्ने सहमति जनाएको र केही योजनाबद्ध हमला रद्द गर्न इजरायली सेनालाई निर्देशन दिएको बताइएको छ।

मध्यपूर्वमा लगातार बढ्दो तनाव अहिले अस्थायी रूपमा रोकिएको देखिए पनि अवस्था अझै अत्यन्त संवेदनशील रहेको विश्लेषण गरिएको छ।