देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

User Image Prime TV News एक दिन अगाडि
Image of देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले आज देशका विभिन्न क्षेत्रमा आंशिक बदलीदेखि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।

कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आज गर्मी बढ्ने र तातो दिनको अवस्था रहने सम्भावना रहेको छ। आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा बदली रहनेछ। मधेशसहित अन्य तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने अनुमान गरिएको छ।

महाशाखाले मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ। साथै तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ।