कांग्रेस विवाद समाधान प्रयासमा संवादको दायरा विस्तार, इतर समूहले जेठ मसान्तसम्मको डेडलाइन
Prime TV News एक दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवाद समाधानका लागि संस्थापन पक्षले संवादको दायरा फराकिलो बनाएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग केन्द्रित सहमति प्रयासले अपेक्षित परिणाम नदिएपछि संस्थापन पक्षले इतर समूहका अन्य प्रभावशाली नेताहरूसँग पनि प्रत्यक्ष संवाद अघि बढाएको हो।
संस्थापन पक्षले मंगलबार परिमार्जन गरिएको सातबुँदे प्रस्ताव इतर समूहका प्रमुख नेताहरूलाई पठाएको जनाएको छ। प्रस्ताव प्राप्त गर्ने नेताहरूमा डा. शेखर कोइराला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला रहेका छन्।
संस्थापन पक्षका एक नेताका अनुसार यसअघि खड्कालाई बुझाइएको प्रस्तावमा केही संशोधन गरी व्यापक सहमतिका लागि अन्य नेताहरूसमक्ष समेत राखिएको हो। “पार्टीभित्रको विवाद समाधानका लागि सबै पक्षसँग संवाद आवश्यक भएकाले प्रस्तावको दायरा विस्तार गरिएको छ,” ती नेताले बताए।
यसअघि १६ जेठमा सभापति गगन थापाले सहमतिका लागि खड्कालाई सातबुँदे प्रस्ताव बुझाएका थिए। त्यसबारे खड्काबाट स्पष्ट प्रतिक्रिया नआएपछि संस्थापन पक्षले वैकल्पिक संवाद प्रक्रिया अघि बढाएको बताइएको छ।
विवाद समाधानका लागि २२ जेठमा उपसभापति विश्वप्रकाश शर्माले खड्कासँग लामो छलफल गरेका थिए। करिब तीन घण्टा चलेको उक्त भेटवार्तामा साझा सहमतिका सम्भावित आधारहरूबारे छलफल भएको संस्थापन पक्षको दाबी छ। त्यसपछि २४ जेठमा प्रस्तावमा थप परिमार्जन गरिएको थियो।
यद्यपि सोही दिन खड्काले सामाजिक सञ्जालमार्फत सभापति थापासँग लामो समयदेखि संवाद नभएको अभिव्यक्ति सार्वजनिक गरेपछि दुई पक्षबीचको दूरी अझ स्पष्ट भएको राजनीतिक वृत्तमा चर्चा छ। यसैबीच, संस्थापन इतर समूहले विवाद समाधानका लागि जेठ मसान्तसम्मको समयसीमा तय गरेको छ।
उक्त अवधिसम्म सहमति जुट्न नसके पार्टीको १५औँ महाधिवेशन प्रक्रियालाई अघि बढाउने र देशव्यापी भेला आयोजना गर्ने तयारी भइरहेको इतर समूहका नेताहरूले बताएका छन्। पार्टी नेतृत्व र इतर समूहबीच विभिन्न एजेन्डामा सहमति खोज्ने प्रयास जारी रहे पनि हालसम्म ठोस निष्कर्ष ननिस्कँदा कांग्रेसभित्रको शक्ति सन्तुलन र आगामी महाधिवेशनको तयारी थप चासोको विषय बनेको छ।






