विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फर्काइए
Prime TV News २२ घण्टा अगाडि 
काठमाडौ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान नदिई फर्काइएको छ।
दुवै जना फिफा विश्वकप फुटबल हेर्न मेक्सिको हुँदै अमेरिका जाने तयारीमा रहेका बेला अध्यागमन अधिकारीहरूले मंगलबार बिहान उनीहरूलाई विमानस्थलबाटै फर्काएका हुन्। अध्यागमन स्रोतका अनुसार नेम्वाङ र राई विदेश यात्रा प्रतिबन्धको सूची (ब्ल्याक लिस्ट) मा रहेकाले प्रस्थान अनुमति दिइएको थिएन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले उनीहरू विदेश जान रोक लगाइएका व्यक्तिहरूको सूचीमा रहेकाले विमानस्थलबाट फर्काइएको जानकारी दिएका छन्। यसअघि आर्थिक अनियमिततासम्बन्धी विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूको विदेश भ्रमणमा रोक लगाएको थियो।
विश्वकप अवलोकनकालागि विदेश जाने तयारीस्वरूप नेम्वाङ र राईले सोमबार राखेप पुगेर प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गरेका थिए। तर राखेपले छानबिन प्रक्रिया जारी रहेको भन्दै विदेश यात्रा खुला गर्ने निर्णय नगरेको स्रोतले जनाएको छ।
एन्फाका शीर्ष दुई पदाधिकारीलाई विमानस्थलबाटै फर्काइएपछि फुटबल प्रशासन र खेलकुद क्षेत्रभित्र यसको व्यापक चर्चा सुरु भएको छ। आर्थिक विषयको छानबिन टुंगो नलागेसम्म उनीहरूको विदेश भ्रमणमा लगाइएको रोक यथावत रहने संकेत देखिएको छ।







