२६ दिनमै राजीनामा दिएका सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त

User Image Prime TV News १६ घण्टा अगाडि
Image of २६ दिनमै राजीनामा दिएका सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त

काठमाडौ । सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त भएका छन्। उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे शीतल निवास स्थित राष्ट्रपतिको कार्यालयमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी तथा सेयर लगानीसम्बन्धी विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका भट्टसँग सम्बन्धित बीमा कम्पनीहरूको सेयर खरिद गरेको विषयमा प्रश्न उठेपछि उनीमाथि राजनीतिक तथा सार्वजनिक दबाब बढेको थियो।

आरोपको जवाफ दिँदै गुरुङले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गरेका थिए। तर आलोचना बढेपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी पहिलो कार्यकालमा २६ दिन मात्र गृहमन्त्री रहेका थिए।

विवादको छानबिनका लागि मन्त्रिपरिषद्ले वैशाख २८ गते अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिलाई गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका आरोपहरूको अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो।

छानबिन समितिले आफ्नो प्रतिवेदनमा गुरुङमाथि लगाइएका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकालेको थियो। समितिले उनका चल-अचल सम्पत्ति तथा सेयर लगानीको अध्ययनपछि सम्पत्ति वैध रहेको ठहर गरेको बताइएको छ। साथै, सम्पत्ति विवरणमा देखिएका केही त्रुटिलाई व्यक्तिगत कमजोरीभन्दा पनि राज्यको अभिलेख तथा प्रणालीगत समस्यासँग जोडेर व्याख्या गरिएको छ।

समितिको प्रतिवेदनपछि सरकारले गुरुङलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिएको हो।