मन्त्रिपरिषद्को निर्णय: चार जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग अनुमति, रेडक्रसमा तदर्थ समिति गठन
Prime TV News १६ घण्टा अगाडि 
काठमाडौ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ऊर्जा, प्रशासन तथा सामाजिक संस्थासम्बन्धी विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा चारवटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिइएको छ। स्वीकृति पाउने आयोजनामा तल्लो अरुण जलविद्युत् आयोजना, तल्लो न्यादी खोला जलविद्युत् आयोजना, भुन्छा खोला जलविद्युत् आयोजना र तादी खोला जलविद्युत् आयोजना रहेका छन्।
यी आयोजनाले अब आवश्यक प्रक्रिया पूरा गरी वन क्षेत्र प्रयोग गर्न पाउने भएका छन्। यसैगरी मन्त्रिपरिषद्ले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ। प्रशासनिक सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त नियमावली ल्याइएको सरकारले जनाएको छ।
त्यस्तै, लामो समयदेखि विवादमा रहेको नेपाल रेडक्रस सोसाइटीको व्यवस्थापनका लागि विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। बैठकले पूर्व गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङ सम्बन्धी छानबिन प्रतिवेदन पनि ग्रहण गरेको छ।
प्रवक्ता पोखरेलका अनुसार प्रतिवेदनको कार्यान्वयनबारे थप अध्ययनपछि निर्णय गरिनेछ। सरकारले काठमाडौंमा मेट्रो तथा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन भइरहेको र त्रिभुवन विश्वविद्यालयको बजेटमा कुनै कटौती नगरिने स्पष्ट पारेको छ।







