महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त, आजै शपथ ग्रहण

User Image Prime TV News १६ घण्टा अगाडि
Image of महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त, आजै शपथ ग्रहण

काठमाडौ । स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री बालेन शाहको सिफारिसमा उनलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको हो।

सरकारी स्रोतका अनुसार पुनको शपथ ग्रहण आजै राष्ट्रपति समक्ष हुने कार्यक्रम तय गरिएको छ। उनी विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व सम्हाल्नेछन्। यसअघि पुन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्रीको जिम्मेवारीमा थिए।

सो समयमा उनले शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न प्रस्ताव अघि सारेका थिए। तर अपेक्षित सहयोग नपाएको भन्दै उनले पछि पदबाट राजीनामा दिएका थिए। राजीनामापछि सक्रिय राजनीतिमा फर्किएका पुन स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका हुन्।

पुनको पुनः मन्त्री नियुक्तिसँगै सरकारमा स्वतन्त्र र प्राविधिक पृष्ठभूमिका व्यक्तिको भूमिका अझ बढ्ने अपेक्षा गरिएको छ। सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रको नीति, अनुसन्धान र नवप्रवर्तनलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित पुनलाई जिम्मेवारी दिएको जनाएको छ।