सेयर बजार लगातार चौथो दिन घट्यो, कारोबार रकम भने बढ्यो
Prime TV News १३ घण्टा अगाडि 
काठमाडौ । नेपाली सेयर बजार लगातार चौथो कारोबार दिन पनि घटेको छ। मंगलबार नेप्से परिसूचक १.५४ अंकले घटेर २७३३ अंकमा झरेको छ।
दिउँसो १:२२ बजे नेप्से २७०२ अंकसम्म झरे पनि त्यसपछि केही सुधार भएको थियो। यसअघि बिहीबार १३ अंक, शुक्रबार ११ अंक र सोमबार २० अंकले बजार घटेको थियो। यस दिन कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ।
अघिल्लो दिन ४ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ, जुन वैशाख १५ यताकै उच्च हो। बजारमा १०५ कम्पनीको मूल्य बढ्दा १५१ कम्पनीको मूल्य घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत सूचकमा फाइनान्स क्षेत्र सबैभन्दा बढी १.०१ प्रतिशतले घटेको छ।
अन्य समूहहरूमा पनि सामान्य गिरावट देखिएको छ । बैंकिङ ०.०३, विकास बैंक ०.०६, लगानी ०.१२, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.२०, निर्जीवन बीमा ०.४६ तथा व्यापार समूह ०.३८ प्रतिशतले घटेका छन्। होटल तथा पर्यटन (०.१२), उत्पादन तथा प्रशोधन (०.२६) र अन्य समूह (०.२९) भने केही बढेका छन्। जलविद्युत् समूहमा भने न्यून ०.०१ प्रतिशतको वृद्धि देखिएको छ।
व्यक्तिगत कम्पनीतर्फ हालै सूचीकृत सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावर को सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै सप्तकोशी विकास बैंक, उपकार लघुवित्त र अपर हेवाखोला हाइड्रोपावरको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ। अर्कोतर्फ क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स को सेयर मूल्य सबैभन्दा धेरै ९.१६ प्रतिशतले घटेको छ। त्यस्तै सामुदायिक लघुवित्त र अन्य केही वित्तीय संस्थाहरूमा पनि गिरावट देखिएको छ।
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत् कम्पनी, नेपाल रिइन्स्योरेन्स, रिडी पावर कम्पनी र शिवम् सिमेन्ट अग्रस्थानमा रहेका छन्। बजार लगातार घटे पनि कारोबार रकम बढेकाले लगानीकर्ताको सक्रियता भने कायम रहेको देखिन्छ।







