रास्वपाले मधेस प्रदेश अधिवेशनका सबै गतिविधि स्थगित गर्यो
Prime TV News १७ घण्टा अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार जारी गरेको जरुरी सूचनाअनुसार अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय र विधिसम्मत रूपमा सम्पन्न गर्न आवश्यक तयारी पुनः मूल्यांकन गर्नुपर्ने देखिएकाले सबै प्रक्रिया हाललाई रोकिएको हो।
सूचनामा प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सबै गतिविधि तत्काल प्रभावबाट स्थगित गरिएको उल्लेख छ। राष्ट्रिय स्वतन्त्र पार्टीका अनुसार पार्टीको विधान २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ र ४९ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै केन्द्रीय निर्वाचन आयोगले उक्त निर्णय गरेको हो।
आयोगले अधिवेशन पुनः सञ्चालन हुने मिति, समय र संशोधित कार्यतालिका पछि आधिकारिक रूपमा सार्वजनिक गरिने जनाएको छ। साथै अर्को निर्देशन नभएसम्म अधिवेशनसँग सम्बन्धित कुनै पनि गतिविधि सञ्चालन नगर्न सबै नेता–कार्यकर्ता, प्रतिनिधि तथा उम्मेदवारहरूलाई आग्रह गरिएको छ।
सूचनाको बोधार्थ पार्टी सभापति, महामन्त्री, संगठन विभाग, अनुशासन आयोग र मधेस प्रदेश समितिलाई समेत दिइएको छ।







