माग पूरा नभएको भन्दै रास्वपा कार्यालयअघि जेनजीको प्रदर्शन

User Image Prime TV News १५ घण्टा अगाडि
Image of माग पूरा नभएको भन्दै रास्वपा कार्यालयअघि जेनजीको प्रदर्शन

काठमाडौं । जेनजी समूहका युवाहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएका छन्। उनीहरूले आफ्ना माग पूरा गर्न दबाब दिन नाराबाजी समेत गरेका छन्।

वनस्थलीस्थित रास्वपा कार्यालयअघि भेला भएका प्रदर्शनकारीहरूले सरकारसँग भएको १० बुँदे सम्झौता कार्यान्वयन गर्न माग गरेका छन्। साथै आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उचित उपचार र शहीद परिवारको व्यवस्थापन गर्न पनि उनीहरूले आग्रह गरेका छन्।

जेनजी अभियन्ता सरिस्मा थापाका अनुसार आन्दोलनका क्रममा पक्राउ परेका केही युवाहरू अझै हिरासतमा छन्। उनीहरूलाई बिना शर्त रिहा गर्नुपर्ने माग पनि प्रदर्शनकारीहरूको छ। धर्नामा जेनजी अभियानमा सहभागी युवा, घाइते तथा शहीद परिवारका सदस्यहरू समेत सहभागी भएका थिए।

प्रदर्शनकारीहरूले आफ्ना माग पूरा नभए आगामी दिनमा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन्। उनीहरूले सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ नगर्न आग्रह गरेका छन्।